पूर्व र पोखराका व्यवसायी पर्यटनका अनुभव साट्दै
- Pokhara Express
- २०८१ फागुन २० मङ्गलबार

इटहरी, २० फागुन
‘जाउँ है पोखरा’ र ‘घुमौं कोशी’ अभियानअन्तर्गत मंगलबार सुनसरीको इटहरीमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ। पूर्वी नेपालमा पर्यटन प्रवर्द्धन गर्दै पोखरासँग सहकार्य विस्तार गर्ने उद्देश्यले होटल संघ पोखरा नेपालको टोलीलाई सुनसरी र बिर्तामोडमा स्वागत गरिएको थियो।
नेपाल सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गरेको छ, भने भिजिट पोखरा इयर २०२५ अभियान पनि सञ्चालन भइरहेको छ। यसै सन्दर्भमा, पूर्वी नेपाल र पोखराका व्यवसायी पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्दै अघि बढ्न सहमत भएका छन्। इटहरी उद्योग वाणिज्य संघ र होटल संघ पोखरा नेपालले ‘जाउँ है पोखरा’ र ‘घुमौं कोशी’ अभियानलाई एकसाथ अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
संयुक्त कार्यक्रममा पूर्वका व्यवसायीहरूले भद्रपुर–पोखरा हवाई उडान पुनः सुचारु गर्नुपर्ने प्रस्ताव राखेका थिए, जुन विगतमा सञ्चालनमा आएर स्थगित भएको थियो।
कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गरे। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराले पर्यटन क्षेत्रमा हासिल गरेको सफलता तथा अनुभवहरू साझा गरे। कोशी प्रदेशकी सांसद मिना श्रेष्ठले विश्वकै अग्लो सगरमाथादेखि नेपालको होचो स्थानसमेत कोशी प्रदेशमै रहेको उल्लेख गर्दै यसको पर्यटन प्रवर्द्धन अपरिहार्य भएको बताइन्।
इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले पूर्वी नेपालका पर्यटकीय सम्पदाको प्रचारप्रसार आवश्यक रहेको बताए। पोखरा पर्यटन परिषद्का विज्ञ सल्लाहकार दीपेन्द्र पहारीले पोखराका प्रमुख पर्यटकीय स्थलहरूबारे जानकारी गराउँदै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।
यसैगरी, मंगलबार बिर्तामोडमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यवाहक प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले झापाका पर्यटकीय सम्पदा र सेवा सुविधाका विषयमा जानकारी गराए। उनले झापा तथा समग्र कोशी प्रदेश जातीय विविधता, परम्परागत पहिरन, खानपान र संस्कृतिका दृष्टिले समृद्ध रहेको स्मरण गराए।
कार्यक्रममा होटल संघ पोखरा नेपालका अध्यक्ष सुवेदीले नेपाल आउने पर्यटकमध्ये ४० प्रतिशत पोखरा पुग्ने जानकारी गराउँदै हाल आन्तरिक पर्यटकको योगदान पनि ४० प्रतिशत हाराहारी रहेको बताए। उनले नेपालमै पहिलोपटक पोखरामा सफलतापूर्वक बलुन फेस्टिभल सम्पन्न भएको जानकारी दिँदै पूर्वी नेपालका बासिन्दालाई पोखरा भ्रमणका लागि आग्रह गरे।
कतिपय सहभागीहरूले पोखराले पर्यावरण संरक्षण र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए। कार्यक्रममा झापा तथा कोशी प्रदेशका धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदाका विषयमा जानकारी गराइएको थियो।
झापाका व्यवसायीहरूले पोखराका पर्यटन व्यवसायीलाई झापाका प्रमुख पर्यटकीय क्षेत्रको भ्रमण गर्न निमन्त्रणा गरे। साथै, झापा–पोखरा स्तरीय बस सेवा सञ्चालन गर्ने तथा भद्रपुर–पोखरा हवाई उडान पुनः सुरु गर्ने प्रस्ताव पनि राखियो।
कार्यक्रममा कोशी भ्रमण वर्ष २०८२ का सहसंयोजक भविषकुमार श्रेष्ठ, होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भीष्म खरेल, बन्दीपुर केवलकार प्रालिका उपाध्यक्ष किरण पोखरेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलगायतले आआफ्ना विचार राखे।
कार्यक्रमको सञ्चालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन्। ‘जाउँ है पोखरा’ अभियानलाई नेपाल पर्यटन बोर्ड गण्डकीले प्रवर्द्धन गरिरहेको छ।
तपाईको प्रतिक्रिया