‘समुदायमा पुस्तकालयको पहुँच छैन’
- Pokhara Express
- २०८१ फागुन १८ आइतबार

१८ फागुन ,पोखरा ।
समुुदायस्तरमा सार्वजनिक पस्तकालयको अभाव भएको विद्यार्थीले गुनासो गरेका छन् । घर वरपर पुस्तकालयको पहुँच नहुँदा विद्यालयको पुस्तकालयको भर पर्नुपर्ने उनको भनाइ छ । उनीहरु भन्छन्, ‘घर वरपर पुस्तकालय छैन । विद्यालयको पुस्तकालयले अभाव टारेको छ । रुची अनुसारको किताब नहुँदा आफैंले किनेर पढ्छौ ।’
पोखराको लेकसाइडस्थित बारहीघाटमा जारी १२ औं संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलको अलिमियाँ कक्षमा आइतबार ‘विद्यार्थीसँग किताब’ को चर्चा भयो ।
राजनीतिज्ञ रसिसहरि भण्डारीसँग गण्डकी बोर्डिङ स्कुलकी प्रेन्सा रेग्मी, भानुभक्त माविका सुविन विक, बालोदय माविकी श्रीयंका रेग्मी, छोरेपाटन माविका सोहन कार्की, कुम्दिनी होम्स्का एरिन गुरुङ किताबसँगै पुस्तकालयको पहुँचका बारेमा गफिए ।
प्रेन्साले समुदायस्तरमा पुस्तकालयको पहुँच नभएको बताइन् । विद्यालयको पुस्तकालय र बजारका पुस्तक पसलबाट किनेर आफ्नो पठन भोक मेटाउने उनको भनाइ थियो ।
‘टोल समाजमा पुस्तकालयको पहुँच छैन । बजारमा गयो भने खोजेको पुस्तक पाइन्छ । घरमै बुवा आमाले पनि खोजेको किताबहरु ल्याइदिनुहुन्छ । मैले त्यसरी पनि पढ्छु’, उनी भन्छिन्, ‘घरमै थुुप्रै पुस्तकहरु छन् । ति पुस्तकबाट पनि ज्ञान लिन्छु । मोबाइललाई प्रयोग गर्दै प्रविधिको माध्यमबाट पनि धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छु ।’
उनले इन्टरनेटको पहुँचबाट पनि पुस्तकहरु पढ्ने सुनाइन् । उनले थपिन्, ‘किनभने घरनजिकै पुस्तकालय छैन । विद्यालय पुस्तकालयको सुविधा राम्रो छ । सबै विधाको किताबहरु पाउँछु । त्यसरी किताबहरु पढिरहेको हुन्छु ।’
सुविनले विद्यालयको पुस्तकालयले मात्रै रुची समेट्न नसक्ने बताए । ‘समाजमा पुस्तकको पहुँच छैन । बजारमा जाने हो भने पहुँच हुन्छ’, उनले भने, ‘विद्यालयमा पुस्तकालय हुन्छ । विद्यालयको पुस्तकालयले रुची समेट्न सक्दैन । गुरु, घरपरिवारले पुस्तक उपलब्ध गराइदिनुहुन्छ । आफैंले किनेर पनि पुस्तक पढ्ने गर्छु ।’ पुस्तक पढेर प्राप्त गरेको ज्ञान अरु समक्ष पनि बाँड्ने गरेको उनले बताए ।
एरिन गुरुङले समुदायस्तरमा पुस्तकालयको पहुँच नहने साझा समस्या भएको खुलाइन् । उनले नेपालमा सार्वजनिक पुस्तकालय विकासमा जोड दिनुपर्ने तर्क पेश गरिन् । सामुदायिक पुस्तकालयको अभावमा आफैंले किताब किनेरसमेत पढ्ने गरेको उनले बताइन् ।
‘घरकै कुरा गर्ने हो भने पुस्तक किनिरहेको हुन्छु । एक महिनामा, हप्तामा इच्छा अनुसार किनिरहेको हुन्छु । मेरो बुवाले पनि विदाको बेलामा एउटा दुईटा किताब किन्नुहुन्छ’, उनी भन्छिन्, ‘उहाँले पढेर सक्नेवित्तिकै छोटो सारंश दिनुहुन्छ । त्यसले मलाई अझ पढ्न मन लाग्छ ।’
विद्यालयमा भने पुस्तकालय सुविधासम्पन्न रहेको बताइन् । पुस्तकालयमा पुगेर सबै कक्षाका विद्यार्थीहरु पढ्ने बानीको विकास भएको उनले जानकारी दिइन् । उनका अनुसार आख्यानदेखि गैरआख्यान, राजनीति, इतिहासका सबै प्रकारका पाइन्छ ।
विद्यालयमा साहित्य समूह बनाएर पठनसंस्कृतिमा जोड दिइरहको उनले सुनाइन् । ‘महिनाको अन्तिममा साहित्य समूहको बैठक बस्छौं । र हामीले कुन पुस्तक पढ्यौं भने छलफल गर्छौं । साथीले पढेको पुस्तकमा रुची लाग्यो भने साटासाट पनि गर्छौं’, उनले सुनाइन् ।
प्रेन्सा, सुविन, एरिनले जस्तै श्रीयंकाले पनि पुस्तकालयको पहुँच नभएको समस्या दोहो¥याए । ‘घरतिर कुनै पुुस्तकालय छैन । विद्यालयमा छ । शिक्षकहरुलाई यस्तो पुस्तक ल्याइदिनुु मलाई मनपर्छ भन्यो भने उहाँहरुले ल्याइदिनुहुन्छ । धेरै जसो उपन्यास पढ्छु’, उनको भनाइ थियो ।
सोहनले घरपरिवारको प्रोत्साहनले पढ्ने बानीको विकास भएको सुनाए । ‘पुस्तकको पहुँचको कुरा गर्दा विद्यालयमा पुस्तकालय छ । पुस्तकालयमा हरेक विषयका किताबलाई समावेश गरिएको छ’, उनी भन्छन्, ‘घर वरपर सामुुदायिक पुस्तकालयको पहुुँच छैन । घरपरिवारले प्रोत्साहित गर्नुहुन्छ पुस्तक पढ्नलाई ।’
पढ्ने बानीको विकास गर्नलाई किशोर अवस्थामा साथीभाईको महत्वपूूर्ण भूमिका रहनेमा उनीहरु एकमत भए । साथीभाईले पढेको पुस्तकको चर्चा गर्दा पढ्नलाई रुची जगाउनेमा उनीहरु सहमत थिए ।
तपाईको प्रतिक्रिया