८ फागुन ,पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाशिवरात्रीका अवसरमा शिवरात्री महामहोत्सव २०८१ हुने भएको छ ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम र राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको संयुक्त आयोजनामा शिवरात्री महामहोत्सव गर्न लागिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रविण पौडेलले जानकारी दिनुुभयो ।
उहाँका अनुुसार महामहोत्सवका अवसरमा शिवरात्रीका दिन प्रातः कालीन महा शिवआराधना, सामूहिक ब्रतबन्ध, सायंकालीन शिव महाआरती एवम् अखण्ड हवन गरिनेछ ।
त्यस्तै सायंकालीन अखण्ड दीप प्रज्वलन, सामूहिक शिव महाधुनि प्रज्वलन, सामूहिक बिल्वपत्र अर्पण र भजन कीर्तन कथा प्रवचन गरिनेछ ।
महामहोत्सवका क्रममा विश्व शान्तिको कामनका लागि उखु, गुर्जो, वेल आदिको रसद्वारा अभिषेक, षोडशोपचारद्वारा पूजा आराधना आरती गरिनेछ भने रात्रीकालीन चार प्रहरमा शिव आराधना गरिने जनाइएको छ । त्यस्तै प्रातकालीन श्रृंगार, एक हजार आठ बिल्व अर्पण, अखण्ड दीपदान आदि कार्यक्रम तय गरिएको छ ।
महामहोत्सवमा कर्ता बन्नका लागि एक हजार एक सय रुपैयाँ सहयोग रकम निर्धारण गरिएको सहायक प्रधानाध्यापक पौडेलले जानकारी दिनुुभयो ।
तपाईको प्रतिक्रिया