७ फागुन, पोखरा
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशबासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई पथप्रदर्शन गरेका अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गर्नुभएको छ ।
एक शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित रहेको उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा उल्लेख छ – ‘सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग वि.सं २००७ सालको क्रान्ति थियो भन्ने हामीले सधैं स्मरण गर्नुपर्नेछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्दछ ।’
यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्वन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै उहाँले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना पनि गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया