पोखरा ५ फागुनः पोखरामा बेलुन पड्किँदा जलेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्यमा सुधार आएपछि सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने उच्च रक्तचापको समस्या रहेकाले थप केही दिन अस्पतालमै उपचार गरिने अस्पताल स्रोतले जनाएको छ।
जलनका कारण उपचाररत दुबै नेताको फोक्सोमा कुनै असर नदेखिएको र घाउहरू सुधारोन्मुख रहेको चिकित्सकहरूको टोलीले जनाएको छ। उपप्रधानमन्त्री पौडेललाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भए पनि मेयर आचार्यको स्वास्थ्य अवस्था हेर्दै हृदयरोग विशेषज्ञको सल्लाहअनुसार थप उपचार गरिने भएको छ।
संक्रमणको जोखिम कम गर्न मेयर आचार्यलाई हालका लागि भेटघाट बन्द गरिएको छ।उनीहरूको उपचारमा सघन उपचार कक्षमा प्राडा. विडी झा, डा. प्रविण गिरी लगायतको टोली संलग्न छ। जलन विशेषज्ञ टोलीमा प्राडा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतका चिकित्सक सहभागी छन्। आकस्मिक उपचारमा डा. प्रयुष अर्याल तथा नर्सिङ टोलीमा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतका स्वास्थ्यकर्मी छन्।
पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा हाइड्रोजन राखिएको बेलुनमा आगलागी हुँदा माघ ३ गते उनीहरू घाइते भएका थिए। पोखरामा उपचार सम्भव नभएपछि दुवै जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।
तपाईको प्रतिक्रिया