अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवस
- Pokhara Express
- २०८१ माघ २८ सोमबार

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नागरिकदेखि उच्च ओहदासम्मका पदाधिकारीमा सदाचार र नैतिकता भएमात्र सुशासन र समृद्धि हाँसिल हुने बताउनुभएको छ । सबै सरोकारवालाहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न जरुरी रहेको उहाँको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा पोखरा कार्यालयले आयोजना गरेको स्थापना दिवस विशेष समारोहका प्रमुख अतिथि भट्टले भ्रष्टाचार विरुद्धको लडाई सबैको साझा लडाई भएको बताउनुभयो ।
‘नेपालको संविधानले दिगो शान्ति, सुशासन, समृद्धि र विकासको परिकल्पना गरेको छ। संविधानको यो सपना त्यतिखेर मात्रै साकार हुन्छ जब हामीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता प्रदर्शन गर्न सक्छौँ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण छ । मुलुकको विकासको बाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेछ ।’
गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी परेको प्रतिवेदनबाट जानकारी पाएको बताउँदै उहाँले सरकारी कार्यालयहरूले अबको दिनमा प्रवाह गर्ने सेवाहरुमा सरलीकरण गर्नुपर्ने र राज्यका सबै अङ्ग तथा अन्तर्गतका निकायले जनतालाई अपनत्व र विश्वास कायम हुने गरी आफ्नो काम कारबाहीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
‘हालको परिवेशमा राज्यका निकायहरूबाट भइरहेको काम कारबाहीलाई नियाल्दा सेवा प्रवाहमा हुनुपर्ने सहजता र विकास निर्माण प्रक्रियामा जनतालाई गराउनुपर्ने सहभागिताको कमी देखिन्छ । साथै, सरकारी कार्यालयहरूले आफूले सम्पादन गरेको कार्यलाई पारदर्शी समेत बनाउन नसकेको तथ्य आयोगको वार्षिक प्रतिवेदनबाट जानकारी प्राप्त गरेँ ।’ उहाँले भन्नुभयो ।
तपाईको प्रतिक्रिया