१७ पुस ,काठमाडौं।
यस वर्ष स्याङ्जाबाट मात्रै एक अर्ब साढे १२ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको छ। सुन्तला सुपरजोन क्षेत्रमा राम्रो उत्पादन भएसँगै एक अर्ब १२ करोड ४७ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको हो।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो।
उत्पादित सुन्लता थोक मूल्यमा प्रतिकेजी ५६ रुपैयाँमा बिक्री भएको हो। चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल २ हजार २८० हेक्टरमा विस्तार भएको छ। चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए।
सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताए। स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन्।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका १ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले मात्र पाँच करोडका सुन्तलाको कारोबार गरेको छ। फार्मले भाटभटेनी सुपरमार्केटलगायत व्यावसायिक संघसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ।
फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम २५ देखि अधिकतम ८५ सम्मका दरले सुन्तला बिक्री गरिरहेको फार्मका सञ्चालक फणिनारायण अर्यालले जानकारी दिए। स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ।
तपाईको प्रतिक्रिया