१३ पुस ,पोखरा ।
पोखराको फेवा किनारमा रेवान पोखराको आयोजनामा २६औं पोखरा सडक महोत्सव सुरु भएको छ। सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऊँ भन्ने नारासहित सन्चालन भएको महोत्सवको उद्घाटन नेपाल सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभयो ।
महोत्सवको उद्घाटन समारोहमा मन्त्री गुरुङले महोत्सवको महत्त्व र प्रभावको बारेमा चर्चा गर्दै भन्नुभयो, “यो महोत्सवले पोखराको कला, संस्कृति, र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर सिर्जना गरेको छ। पोखरालाई विश्वभरको गन्तव्य स्थलका रूपमा स्थापित गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्दै उहाँले थप्नुभयो, “स्थानीय उत्पादन र सांस्कृतिक धरोहरको प्रवर्द्धन गर्दा पर्यटनको विकासमा सकारात्मक प्रभाव पर्न सक्छ।” मन्त्री गुरुङले नेपाल सरकार यस्ता सांस्कृतिक र पर्यटन गतिविधिहरूलाई सधैं सहयोग गर्दै आएको र भविष्यमा पनि यस्ता महोत्सवहरूको निरन्तरताका लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडक महोत्सव जस्ता कार्यक्रमहरूले पोखरालाई विश्वभरमा परिचित बनाउँदै यहाँको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नु भयो । उहाँले पोखरा महानगरपालिकाले पर्यटन र स्थानीय उद्यमशीलतालाई प्रोत्साहित गर्ने प्रतिवद्धता रहेको बताउदै स्थानीय कला, संस्कृति, र परम्परालाई जगेर्ना गर्दै पर्यटनसँग जोड्ने कार्यक्रममा महानगर गरिरहेको बताउनु भयो ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य , प्रदेशका मन्त्री , प्रदेश सभा सदस्य , स्थानीय जनप्रतिनिधि , विभिन्न संघसस्थाका प्रतिनिधि संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।महोत्सवको उद्घाटनअघि खहरेबाट सांस्कृतिक झाँकीसहितको र्याली सुरु भएको थियो। र्यालीमा विभिन्न जातजातिका प्रतिनिधिहरू, ६० भन्दा बढी आमा समूह र पर्यटनसम्बन्धी संघसंस्थाहरूको सहभागिता रहेको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिनु भयो ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रूपमा प्रवर्द्धनका लागि २५ वर्षदेखि निरन्तर महोत्सवको आयोजना गर्दै आएको बताउनु भयो ।स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन,स्थानीय उत्पादनको बजारीकरण र प्रचारप्रसारपोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने महोत्सवले भुमिका खेल्ने उहाँको भनाइ थियो ।
महोत्सवका प्रमुख आकर्षणहरूमा लोपोन्मुख जातजातिका सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, लाइभ कन्सर्ट र सांगीतिक कार्यक्रम रहेका छन्। पोखरा लेकसाइड क्षेत्रमा करिब ३ किलोमिटर क्षेत्रफलमा फैलिएको यो पाँचदिने महोत्सवमा ५ लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटक सहभागी हुने आयोजकले अनुमान गरेका छन्। महोत्सवले पोखराको कला, संस्कृति, र पर्यटनलाई प्रोत्साहित गर्दै नयाँ वर्षको अवसरमा पर्यटकलाई विशेष अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया