पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि पर्यटन व्यवसायीको निरन्तर पहल
- Pokhara Express
- २०८१ पौष १२ शुक्रबार
जमुना वर्षा शर्मा
१२ पुष ,पोखरा
बहुचर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ। २०२३ जनवरी १ मा सञ्चालनमा आएको यो विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न नसक्दा पर्यटन व्यवसायीहरू निरन्तर प्रयासरत छन्। सम्बन्धित निकायसँगको छलफल र प्रवद्र्धनात्मक उडानमार्फत यस विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न पहल भइरहेका छन् ।
नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स एशोसिएशन (नाट्टा) गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै प्रवद्र्धनात्मक उडानमार्फत पहल गरिरहेको छ । यसैबीच पोखरामा हुन लागेको ड्रागन वोट रेसका लागि चिनको छेन्दुबाट पुस ११ गते चार्टर उडानमा एक सय २९ खेलाडी सहित सिचुवान विमान पोखरा उत्रेको थियो । नाट्टाको पहलमा पोखराबाट उत्तिकै संख्यामा यात्रु बोकेर प्रवद्र्धनात्मक कार्यक्रमका लागि सो विमान काठमाडौं अवतरण गर्यो । यसमा पत्रकार, पर्यटन व्यवसायी, र प्रदेशका पर्यटन मन्त्रीहरूको सहभागिता रहेको थियो ।
यो उडानले लोड बोकेर जहाज उडान र अवतरण हुन नसक्ने भन्ने भ्रमलाई तोड्न सफल भएको छ । पूर्ण क्षमतामा उडान र अवतरण भएसँगै विमानस्थल पूर्ण सुरक्षित रहेको सन्देश पनि प्रवद्र्धनात्मक उडानले दिएको छ । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट उडान अवतरणमा कुनै समस्या नरहेको जानकारी गराउँदै भन्नुभयो, “पोखरा विमानस्थलले एयरबसजस्ता ठूला जहाज सहजै सञ्चालन गर्न सक्छ भन्ने प्रवद्र्धनात्मक उडानले पुष्टि गरेको छ । अब यो पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ ।”
अधिकारीले विमानस्थलको प्रभावकारी उपयोगका लागि सरकारी नीतिगत सहयोग र निजी क्षेत्रको अग्रसरताको आवश्यकता औंल्याउँदै थप्नुभयो, “सरकारले गरेको ठूलो लगानीलाई वास्तविक लाभमा बदल्न सबै पक्षले साझा प्रयास गर्नुपर्छ ।”
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र ठूलो कठिनाइमा परेको बताउँदै भन्नुभयो, “पर्यटनमा ठूलो लगानी छ, तर नियमित उडान नहुँदा लगानी जोखिममा परेको छ । अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको छ।” उहाँले यस विषयमा क्यानका पदाधिकारी र सम्बन्धित निकायहरूमा निरन्तर ध्यानाकर्षण गराउँदै प्रवद्र्धनात्मक कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिनुभयो ।
पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठीले यो विमानस्थल नियमित उडानको सुरुवात गर्न राज्यको दायित्व भएको बताउनुभयो । “नागरिकको लगानी रहेको यो विमानस्थलमा उडान सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो । यात्रु खोज्ने काममा निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्छ, र यसका लागि नागरिक तहबाट निरन्तर दबाब आवश्यक छ ।” उहाँले अब विमानस्थलबारे गलत र भ्रमपूर्ण कुरा छर्न कुनै पनि सभ्य नागरिकलाई छुट नभएको जनाउँदै सबैको सामुहिक सहकार्य र सममन्वयको खाँचो औल्याउनुभयो ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नियमित उडानका लागि पहल भइरहेको र छिट्टै सकारात्मक नतिजाको पखाईमा भएको बताउनुभयो, “ संचानलको दुई वर्षसम्म चार्टर उडानमा सीमित विमानस्थललाई नियमित उडानमा लैजान पर्यटन सम्बद्ध संघ संस्था, सञ्चारमाध्यम, र नागरिक समाजले निरन्तर पहल आवश्यक छ , हामी त्यो गतिमा निरन्तर लागेका छौ ।” उहाँले प्राविधिक र पूर्वाधारका चुनौतीहरू हट्दै गएकाले अब नियमित उडान हुने आशावादी भएको बताउनुभयो ।
चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सम्पन्न भएको यो विमानस्थल नेपाल–चीन सहकार्यको उदाहरण मानिन्छ । करिब २२ अर्ब रुपैयाँ लागतमा निर्मित यस विमानस्थलको निर्माण कार्य चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले सम्पन्न गरेको हो । २.५ किलोमिटर लामो रनवे भएको यस विमानस्थलले वाइडबडी जस्ता ठूला क्षमताका जहाजहरूलाई सहज रूपमा अवतरण गर्न सक्षम बनाउँछ । आधुनिक नेभिगेसन प्रणाली, अत्याधुनिक टर्मिनल भवन, र दैनिक २० हजार यात्रु सेवा दिने क्षमताले यो विमानस्थललाई महत्वपूर्ण बनाएको छ ।
गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवस्थित यस विमानस्थललाई अन्नपूर्ण सर्किट, मुक्तिनाथ, र कैलाश मानसरोवरजस्ता विश्वप्रसिद्ध गन्तव्यहरूको प्रवेशद्वारका रूपमा मानिन्छ ।
तपाईको प्रतिक्रिया