प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कार घोषणा
- Pokhara Express
- २०८१ असोज ५ शनिवार

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको छ ।
तीन दशकदेखि पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रूपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लाग्नुभएका पत्रकार भण्डारी र पत्रकारिता प्रशिक्षणमा अग्रणी संस्था एनपीआईलाई यो पुरस्कार प्रदान गरिने भएको हो । यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण संस्थालाई गोपालदास पत्रकारिता पुरस्कारमा समावेश गरिएको काउन्सिलको इतिहासमा यो पहिलोपल्ट हो ।
यस्तै, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गर्ने निर्णय समेत भएको छ । काउन्सिलको बिहीबार र शुक्रबार बसेको बोर्ड बैठकले विभिन्न पुरस्कारसम्बन्धी निर्णय गरेको हो । स्थापनाको ५५ वर्ष पुगेको अवसरमा असोज ६ गते आइतबार सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा काउन्सिलले यी पुरस्कार प्रदान गर्दैछ । सोही दिन काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान समेत गर्ने निर्णय गरेको छ ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पेसागत मर्यादा, प्रतिष्ठामा आँच नआउने गरी विश्वसनीय पत्रकारिता विकास गर्न नेपाली सञ्चारजगतले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मिडियामा युट्युबसहित सामाजिक सञ्जालको बाक्लो उपस्थिति भइरहेको सन्दर्भमा रचनात्मक पत्रकारिताको प्रयोगमार्फत यो क्षेत्रलाई बलियो बनाउन सञ्चार क्षेत्र र सम्बद्ध पक्ष गम्भीर भएर जुट्नुपर्ने खाँचो समेत उनले औँल्याए ।
तपाईको प्रतिक्रिया