ऐतिहासिक पदक दिलाउने कविराजलाई राखेपमा प्रशिक्षक नियुक्तिका लागि सिफारिस
- Pokhara Express
- २०८१ भाद्र २१ शुक्रबार

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले देशका लागि पारा ओलम्पिकमा ऐतिहासिक पदक जिताउने स्वयंसेवक प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षकमा नियुक्तिका लागि सिफारिस गरेको छ ।फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमामा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले देशका लागि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । कविराज पलेशाको प्रशिक्षकको भूमिकामा थिए । उनले स्यवंसेवक प्रशिक्षकको भूमिकामा देशलाई थुप्रै महत्त्वपूर्ण सफलता दिलाइसकेका छन् ।
अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा प्रशिक्षकका रुपमा हालसम्म नेपाललाई ११ पदक दिलाएका छन् । त्यसमा ३ स्वर्ण, २ रजत र ३ कांस्य रहेको छ । पेरिस पारा ओलम्पिकमा नेपालले जितेको कांस्य नेपाली खेलकुद इतिहासकै अहिलेसम्मको सबैभन्दा ठुलो उपलब्धि हो ।
पेरिस पारा ओलम्पिकअघि कुनै पनि ओलम्पिकमा नेपालले हालसम्म पदक जित्न सकेको थिएन । नेपालले पारा ओलम्पिकमा सन् २००४ (एथेन्स पारा ओलम्पिक) र गृष्मकालीन ओलम्पिकमा सन् १९६४ (टोकियो ओलम्पिक) देखि भाग लिन थालेको थियो ।
राखेपले पेरिस पारालिम्पकमा पदक जित्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र नेपाल तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा व्यवस्था भए अनुसारको नगद पुरस्कारका लागि पनि सिफारिस गरिसकेको छ । पेरिस पारालिम्पिकमा पलेशाले के–४४ समूहअन्तर्गत महिला ५७ केजीभन्दा मुनिको तौलसमूहमा ऐतिहासिक कांस्य पदक जितेकी हुन् ।
तपाईको प्रतिक्रिया