रेडियो जननीद्वारा गण्डकीका प्रमुख सचिव लक्ष्मी बस्नेतलाई सम्मान,
उद्यमीका आवाज कार्यक्रम सम्पन्न
पोखरा , भदौ
हरितालिका तीजको अवसरमा उद्यमशिलतालाई केन्द्रविन्दुमा राखेर सञ्चालित रेडियो जननी ९०.६ ले तीज संवादः उद्यमीका आवाज कार्यक्रम एवम जननी सम्मान २०८१ सम्पन्न गरेको छ ।
रेडियोले गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी बस्नेतले प्रदेशको विकास र महिला सशक्तिकरणमा योगदान पुर्याएको भन्दै बस्नेतनलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका बस्नेतले पछिल्लो समय हरेक तह र तप्कामा महिलाको गर्विलो उपस्थिती हुँदै गएको जनाउँदै अझै पनि महिला माथिको विभेद भने हट्न नसकेको बताउनुभयो । उहाँले उद्यमी महिलालाई प्रोत्साहन गर्ने सरकारको नीति रहेकाले महिला दिदिबहिनीलाई उद्यमशिल बन्न प्रेरित गर्नुभयो । महिलाद्धारा सञ्चालित रेडियोले तीजपर्वलाई उद्यमशिलता र सशक्तिकरणलाई जोड्दै संवाद कार्यक्रम गर्नु निकै सह्रानीय रहेको उहाँको भनाइ थियो ।
संवाद कार्यक्रममा मनखुशी मल्टिपर्पोज प्रा.लिका संचालक काशी गुरुङ, सन्तोषीमाता हस्तकला उद्योगका संचालक पम्फा थापा, रक्षा चापागाँई स्टोर्सका संचालक रजनी चापागाँइले उद्यमशीलता क्षेत्रमा भोगेका चुनौतीहरू, सफलताको सूत्र र भविष्यका योजनाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख वक्ताका रूपमा उपस्थित प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य तथा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. शान्ता खत्रीले तीज पर्वको ऐतिहासिकता, यसको बदलिँदो स्वरूप र आधुनिक समयमा महिलाको भूमिकाबारे आफ्नो धारणा राख्नुभयो। उहाँले तीज पर्वलाई परम्परा र आधुनिकताको संयोजनको रूपमा व्याख्या गर्दै महिलाहरूले यसलाई सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन हिरा भट्टराई रेडियोले पहिलो आवाज उद्यमशिलता, दोस्रो आवाज स्वतन्त्रता र तेस्रो आवाज समानताको लागि भन्ने उदघोषकासाथ संचालित भएको जनाउँदै तीजलाई उद्यमशिलता सँग जोडन उद्यमीका आवाज कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले महिला उद्यमशिलता आजको आवश्यता भएको जनाउँदै उद्यमी महिलाबाटनै समृद्ध देशको परिकल्पना गर्न सकिने बताउनुभयो । प्रमखु सचिव लक्ष्मी बस्नेत सबैको प्रेरणा स्रोत भएको जनाउँदै जननी सम्मान २०८१ बाट सम्मान गर्न पाउँदा खुशी लागेको उहाँको भनाइ थियो ।
संवाद कार्यक्रमको रेडियो जननीका सिनियर कार्यक्रम प्रस्तोता एवम कार्यक्रम संयोजन जमुना वर्षा शर्माले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमले महिला उद्यमशीलता र सशक्तिकरणको क्षेत्रमा नयाँ दृष्टिकोण प्रस्तुत गर्दै उद्यमीका आवाज संवाद कार्यक्रमले महिला उद्यमीहरूको आवाज बुलन्द गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।
विभिन्न क्षेत्रका उद्यमी महिला, सामाजिक अभियन्ता, महिला समुह, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रममा संजिवनी नारी समुहले उद्यमशीलतमा आधारित तीज गीत प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया