साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको ९ महिनासम्म पनि ट्रान्सक्रिप्ट उपलब्ध नगराएको विरोधमा विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुको प्रशासन कक्ष अगाडि रातभर धर्ना दिएका छन् ।
बिहीबार बेलुकी ६ बजेदेखि धर्नामा बसेका विद्यार्थीहरुले रात त्यहीँ बिताए । उनीहरुले नतिजा प्रकाशित भएको तीन दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने र परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने बेथिति अन्त्य हुनुपर्ने लगायतका माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका छन् ।
धर्नामा रात बिताएका एक विद्यार्थी प्रदीप भण्डारीले अनलाइनखबरसँग भने, ‘बिएडको नतिजा आएको ९ महिनासम्म पनि ट्रान्सक्रिप्ट दिइएको छैन । त्यसैले हाम्रो मुख्य माग भनेको स्वयं विद्यार्थी उपस्थित भएमा तीन दिन भित्र र विद्यार्थी उपस्थित हुन नसके सात दिनभित्र सम्बन्धित क्याम्पसमै ट्रान्सक्रिप्ट पठाइदिनुपर्छ ।’
९ महिनासम्म नपाएको ट्रान्सक्रिप्ट, धर्ना बसेपछि एक घण्टामै आयो
धर्नामा ९ महिनादेखि ट्रान्सक्रिप्ट नपाएका बीएडका विद्यार्थीहरु पनि सहभागी छन् । उनीहरु बिहीबार बेलुकी ६ बजे धर्ना सुरु गरेपछि परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुखले सात बजेभित्रै ट्रान्सक्रिप्ट प्रिन्ट गरेर ल्याइदिएका थिए ।
धर्नामा बसेका विद्यार्थी प्रदीप भण्डारी भन्छन्, ‘जसले नौ महिनासम्म ट्रान्सक्रिप्ट दिन सक्दैनौं भनेको छ, उसैले नै हामी धर्ना बसेको एक घण्टामै ट्रान्सक्रिप्ट प्रिन्ट गरेर ल्याइदिन्छ भने पनिकाले चाहेमा छिटो दिन सक्ने रहेछ नि ।’
उनी भन्छन्, ‘त्यसैले हामी त्रिविको परीक्षा नियन्त्रण कार्यालयका ढिलासुस्ती र बेथिति अन्त्य हुनुपर्ने माग सहित धर्नामा बसेका छौं । हाम्रा माग पूरा नभएसम्म धर्ना जारी रहन्छ ।’
गएराति विद्यार्थीहरु प्रदीप भण्डारी, प्रविण दाहाल, ममता जोशी, अर्जुन बगाले, विना श्रेष्ठ, असल गैह्रे र आशिष शाक्यलगायत धर्नामा थिए ।
तपाईको प्रतिक्रिया