वैदेशिक रोजगारीमा जानेहरु अब काठमाडौं नधाए पनि हुने भएको छ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य गरी वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने सबै सेवा सुविधा पोखराबाट उपलब्ध गराउने निर्णय गरेको छ । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत गराउने तयारी स्वरुप नै सरकारले वैदेशिक रोजगारीका प्रक्रिया पोखराबाटै पूरा गर्न सकिने सुविधा दिन लागेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मंगलबार सरोकारवाला संघसंस्था र कार्यालयहरूका प्रतिनिधिहरूसहित बसेको बैठकले वैदेशिक रोजगारी सम्बन्धित सेवा सुविधा पोखरा र भैरहवाबाट पनि उपलब्ध गराउने निर्णय गरेको हो ।
‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट नै उपलब्ध गराउने छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बिमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न यस्तो निर्णय गरिएको मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी कविराज उप्रेतीले बताए ।
हाल प्रदान गरिरहेको सेवा र सम्पादन गरी रहेका कामहरू पोखरा र भैरहवाबाट गर्ने गरी आवश्यक व्यवस्था सबै संघसंस्थाहरूले मिलाउने निर्णय बैठकले गरेको हो । सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरूको सम्बन्धमा सम्बन्धित कार्यालयहरूले व्यवस्था मिलाउने भनिएको छ । निर्णयमा भनिएको छ, ‘श्रम स्वीकृति लगायत सेवालाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउने ।’
भिसा सेन्टरको स्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने समेत जनाइएको छ । ऐन, नियम, कार्यविधिमा केही संशोधन वा निर्णय गर्नुपर्ने भएमा मन्त्रालयले अध्ययन गरी निर्णय गर्ने प्रकाशित सूचनामा उल्लेख छ । श्रम मन्त्रालयअन्तर्गतका सेवाहरूलाई क्रमशः प्रदेशस्तरमा लैजान आवश्यक तयारी मिलाउने समेत निर्णय भएको छ ।
भिसा सेन्टर स्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय समेत श्रम मन्त्रालयले गरेको छ । ऐन, नियम कार्यविधिमा संशोधन वा निर्णय गर्नुपर्ने भए मन्त्रालयले अध्ययन गरी व्यवस्था मिलाउने निर्णय गरेको छ । मोफसलमा २ नयाँ विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि वैदेशिक रोजगारसँग सम्बन्धित कामका लागि काठमाडौंमै धाउनुपर्ने बाध्यता थियो । यसले ती विमानस्थल सञ्चालनका लागि वायुसेवा कम्पनीले इच्छा देखाउन सकेका छैनन् । यता, सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट पारित यी २ विमानस्थल सञ्चालन गर्ने कार्ययोजनामा समेत यो विषय समावेश छ ।
प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले यी २ विमानस्थल सञ्चालन मोडालिटी सबै सरोकारवाला निकायसँग माग गरेका छन् । मन्त्रालय सञ्चालनमा गृह, पर्यटन, नागरिक उड्डयन प्राधिकरण, अर्थ, उद्योग, परराष्ट्र, रक्षा सहितका मन्त्रालय प्रथम सरोकारवाला निकाय हुन् । यसबाहेक विमानस्थलमा निजी क्षेत्रसमेत सरोकारवाला निकाय हुन् । यी २ विमानस्थलमा वायुसेवा आकर्षित गर्न पर्यटन मन्त्रालयले विभिन्न प्रकारका छुट दिइरहेको छ । तर, आवश्यक यात्रु नहुँदा वायुसेवा कम्पनीहरू त्यहाँ जान मानिरहेका छैनन् । श्रम मन्त्रालय अन्तर्गतका सेवा क्रमशः प्रदेश स्तरमा लैजान आवश्यक तयारी गर्ने निर्णय समेत भएको मन्त्रालयले जानकारी गराएको छ ।
तपाईको प्रतिक्रिया