समयमै नतिजा प्रकाशन नगरेर विद्यार्थीलाई निराश र अन्योल बनाउँदै आएको त्रिभुवन विश्वविद्यालयले यसपटक नयाँ रेकर्ड राखेको छ । परीक्षा दिएको चार दिनमै नतिजा प्रकाशन गरेर त्रिविले सुधारको सम्भावना देखाएको हो । सोचेभन्दा छिटो नतिजा प्रकाशन भएपछि विद्यार्थी नै आश्चर्यमा परेका छन् ।
पछिल्लोपटक त्रिविले स्नातकोत्तर पहिलो वर्षको मानविकी संकायअन्तर्गत इतिहास, नेपाली, समाजशास्त्र, ग्रामीण विकास, राजनीतिशास्त्रलगायत सातवटा परीक्षा र एमबिएस प्रथमको एउटा परीक्षा सकिएको छोटो समयमै नतिजा प्रकाशन गरेको हो । परीक्षा नियन्त्रक कार्यालय बल्खुका अनुसार इतिहास, नेपाली, समाजशास्त्र, ग्रामीण विकासलगायत ६ वटा परीक्षाको नतिजा १३ साउन अर्थात् चार दिनमै प्रकाशन भएको हो । ती विषयको परीक्षा २ देखि ९ साउनसम्म सञ्चालन भएको थियो ।
त्यस्तै, स्नातकोत्तर तह प्रथम वर्ष राजनीतिशास्त्रको परीक्षा २ देखि ९ साउनसम्म सञ्चालन भएको थियो । यो विषयको नतिजा १९ साउनमा प्रकाशन भयो । छोटो समयमै प्रकाशन भएको अर्को नतिजा हो, एमबिएस प्रथम वर्षको । २ देखि ९ साउनसम्म सञ्चालन भएको एमबिएस प्रथम वर्षको परीक्षाको नतिजा मंगलबार मात्रै प्रकाशन भएको छ । नतिजा समयमै प्रकाशन हुँदा विद्यार्थीलाई माथिल्लो तहमा अध्ययनको ढोका खुलेको छ । ‘यसपटक हामीले इतिहासमै पहिलोपटक समयभन्दा छिटो नतिजा प्रकाशन गर्न सकेका छौं । कर्मचारीले १२ घण्टासम्म काम गर्नुभएको छ,’ परीक्षा नियन्त्रक पुष्प जोशीले भने, ‘अब भदौपछि सबै परीक्षा र नतिजा सिस्टममा आउँछन् ।’ छोटो समयमै प्रकाशन गरिएका नतिजाको परीक्षामा एक हजार एक सय हाराहारी विद्यार्थी सामेल थिए । तर, जनशक्ति व्यवस्थापन र कार्यालय समयभन्दा बाहेकको समयमा पनि काम गरेकाले छोटो समयमै नतिजा प्रकाशन गर्न सम्भव भएको हो । परीक्षा नियन्त्रक कार्यालयले एक साताभित्र गत वर्षका बाँकी परीक्षा र एमबिए प्रथम वर्ष, एमएड प्रथम वर्ष र एकवर्षे बिएडको नतिजा प्रकाशनको तयारी गरेको छ ।
त्रिविका अनुसार ०८० भदौमा भएको स्नातक तह दोस्रो र तेस्रोको परीक्षाको नतिजा असोजभित्रै प्रकाशन गरिनेछ । यी नतिजा प्रकाशन गरिसकेपछि पुराना नतिजा प्रकाशनको काम सकिने र नयाँ क्यालेन्डरअनुसार काम गर्न सहज हुने परीक्षा नियन्त्रक जोशीले बताए । उनका अनुसार अब विद्यार्थीले परीक्षा दिएको सय दिनभित्र नतिजा प्राप्त गरिसक्नेछन् । ०८१ वैशाखयता भएका सबै विषयको नतिजा सय दिनभित्र आइसक्नेछ । स्नातक तह दोस्रो, तेस्रो र पहिलो वर्षको परीक्षा दसैँअघि नै सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रक कार्यालयले परीक्षाफल समयमै प्रकाशन गर्न कर्मचारीलाई १२ घण्टे ड्युटी तोकेको छ । बिहान ६ देखि बेलुकी ६ बजेसम्म ११९ जना कर्मचारीले नतिजा प्रकाशन सम्बन्धमा गृहकार्य गर्दै आइरहेका छन् । कर्मचारीहरूलाई ६० प्रतिशत भत्ताको व्यवस्था गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । उनका अनुसार यसअघि कर्मचारीले काम गर्ने समय कम हुँदा समयमै नतिजा प्रकाशन हुन सकेको थिएन । ‘हामीलाई अझै पनि जनशक्ति कम छ, आधाभन्दा कम कर्मचारी छन्, एउटा कर्मचारी आएन भने विकल्प छैन,’ उनले भने, ‘अब छिट्टै सफ्टवेयर सिस्टम व्यवस्थित बनाउँदै छौँ ।’ (सेतो पाटी डट कम )
तपाईको प्रतिक्रिया