४५ करोडमा गण्डकी प्रदेशसभा भवन
- Pokhara Express
- २०८१ श्रावाण १६ बुधबार
पोखरा ।
प्रदेश संरचना स्थापनाको ७ वर्षपछि गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण प्रक्रियाअघि बढेको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम ४४ करोड ९९ लाख ६० हजार ३ सय ७६ रुपैयाँ लागतमा संसद भवन बनाउन लागिएको हो ।
गण्डकी सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ स्रोत सुनिश्चिततापछि साउनभित्रै बोलपत्र आह्वान हुने बताए । प्रदेशसभाको दोस्रो कार्यकालभित्रै भवन निर्माण पूरा हुने उनको भनाइ छ । ‘आउने माघ/फागुनबाट फिल्डमा कामै सुरु हुन्छ । २ वर्षमा निर्माण सक्ने लक्ष्य लिएका छौँ,’ उनले भने । यसअघि बनेको डेड अर्बको डिपिआर प्रदेश सरकारको सामथ्र्यअनुरुपको नभएकाले नयाँ डिपिआर तयार गरिएको उनको भनाइ छ ।सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले एक हप्ताअघि स्रोत सुनिश्चितताका लागि आर्थिक मामिला मन्त्रालयमा पठाएको छ । गण्डकी सरकारले यो वर्ष भवन निर्माणका लागि ९ करोड विनियोजन गरेको छ । आर्थिक मामिलाले स्रोत सुनिश्चित गरेपछि निर्माण प्रक्रिया थालिहाल्ने तयारी छ ।नयाँ बन्ने प्रदेशसभाको भुइँ तलामा प्रदेशसभा सचिवालयमा पर्ने कार्यालयहरु रहनेछन् । त्यहाँ सभामुख, प्रदेशसभा सचिवालय, उपसभामुख, विषयगत समितिका सभापति र समितिका कार्यालय लगायतका रहने छन् । भवनको पहिलो तलामा सय जना जति अट्ने हल बन्नेछ । सहरी विकासका सिडिई रवीन्द्र तिवारी भन्छन्, ‘६० सदस्यीय गण्डकी प्रदेशसभाका लागि सय जना जति अट्ने सदन पहिलो तलामा बन्नेछ ।’
गण्डकी सरकारले यो वर्ष भवन निर्माणका लागि ९ करोड विनियोजन गरेको छ
दोस्रो तलामा प्रदेशसभा बैठक हेर्न चाहने पत्रकार, राजनीतिकर्मी र सर्वसाधारणका लागि स्थान हुनेछ । सोही तलामा पत्रकार सम्मेलन, साना औपचारिक कार्यक्रम गर्न मिल्ने खालको सानो हलसमेत बनाउने योजना छ ।
यसअघि बनाइएको डिपिआरमा १ अर्ब ४६ करोड लागतमा प्रदेशसभा भवन बनाउने योजना थियो । प्रदेश सरकारको सामथ्र्यले यस्तो भवन धान्न कठिन हुने टिप्पणी भएपछि ०८०/०८० मा नयाँ डिपिआर बनाइएको हो ।अहिलेको भवनमा पानी परेका बेला बैठक गर्न मिल्ने अवस्था छैन । ढुंगाले छाएको हलका ठाउँ ठाउँमा पानी चुहिने र वर्षात्को आवाजसमेत भित्रैसम्म आइपुग्ने गरेको छ । प्रदेशसभाका उपसचिव प्रेम सुवेदी भन्छन्, ‘गर्मीमा बस्नै गाह्रो हुने अवस्था छ । ठाउँ ठाउँमा पानी चुहिन्छ ।
प्रिफ्याबबाट बनाइएका अस्थायी संरचनामा प्रदेशसभा चलिरहेको छ ।’ बर्सेनि मर्मतका लागि बजेट विनियोजन गरे पनि अहिलेको संसद भवनलाई उपयुक्त बनाउन सकिएको छैन । राजनीतिकर्मी, पत्रकार लगायत दर्शकदीर्घाका लागि थोरै ठाउँमात्र उपलब्ध छ ।बाहिरबाट हेर्दा चिटक्क देखिए पनि पानी चुहिने भइसकेको भवनलाई टालटुल गरी नदीपुरस्थित साविकको नगर प्रशिक्षण केन्द्रकै भवनलाई दोस्रो कार्यकालको संसद बैठकका लागि तयार गरिएको थियो । यो भवनले अब ५ वर्ष नथेग्ने देखेपछि सभामुख भएलगत्तै कृष्णप्रसाद धितालले प्रण नै गरेका थिए, ‘प्रचण्डलाई भनेरै भए पनि स्रोत जुटाउँछु र सुविधासम्पन्न संसद भवन बनाउने काम थालिहाल्छु ।’
तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का हुँदै २० लाख रुपैयाँ खर्चिएर गण्डकीको संसद भवन बनाउने भन्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइएको थियो । तर, गत माघ २२ गते प्रदेश स्थापना दिवसको कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्रले संसद भवन बनाउन नसकेकोमा थकथकी व्यक्त गरे ।अहिलेको प्रदेश सभाको भवन बाहिरबाट हेर्दा चिटिक्क देखिए पनि पुरानो र साँघुरो छ भने अर्कोतिर कार्यव्यवस्था परामर्श समितिको बैठक, लबी लगायत लागि पनि ठाउँ अभाव भइरहेको छ । संसदीय समिति र दलका कार्यालयहरु पनि अस्थायी खालका बनाइएका छन् ।स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान मार्फत नगर प्रशिक्षण केन्द्रका संरचनामा अहिले प्रदेश सभा र प्रदेश प्रशिक्षण प्रतिष्ठान सञ्चालन भइरहेको छ । प्रदेशको नाममा जग्गा हस्तान्तरण गर्न माग गरेको भए पनि संघीय सरकारले ६४ रोपनी जग्गा भोगाधिकार मात्र दिएको छ ।हालको प्रदेश सभा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४९ साल असोज १ गते उद्घाटन गरेका थिए । त्यसबेलाको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमार्फत नगर प्रशिक्षण केन्द्रका संरचनालाई ०७४ को प्रदेश सभा निर्वाचनपछि गण्डकी प्रदेश सभा हल बनाइयो । हाल त्यहाँ प्रदेश सभा र प्रदेश प्रशिक्षण प्रतिष्ठान सञ्चालन भइरहेको छ ।तीन दशक भइसकेको यो भवन अब ५ वर्ष पनि नथेक्ने सांसदहरु बताउँछन् । गण्डकी प्रदेश सभा हेर्दा आकर्षण देखिएपनि भित्र पानी चुहिने र साँघुरो छ । अर्कोति कार्यव्यवस्था परामर्श समितिको बैठक, लबी लगायतका लागि पनि ठाउँ अभाव छ । ४ समिति बैठक बस्ने कोठा रहेपनि साँघुरो र अव्यवस्थित नै देखिन्छ ।
तपाईको प्रतिक्रिया