पोखरा २३ असार ,
संगम बचत तथा ऋण सहकारी संस्थाले पोखरा १५ मै रहेको आमा समुह ढुङ्गेसाँघुसँग सहकार्य गर्दै स्थानीय महिलाहरुलाई पाँच दिने उदघोषण तथा भाषणकला एवम् नेतृत्व बिकास तालिम दिएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ , कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले सहभागीलाई प्रमाणपत्र बितरण गर्दै म पनि बोल्न सक्छु , म पनि गर्न सक्छु भन्ने कुरा सहभागीको हँसिलो अनुहारमा देखिएको चमकले नै बताइरहेकोमा खुसी व्यक्त गरिन् । हामी अरु जस्तो हुनु पर्दैन , आफैमा विशेष हौं , आठ अरबमा एक हौं भन्दै मातृशक्तीमा गर्व गर्न र बाटोमा आउन सक्ने अवरोध छिचोल्दै अगाडी बढ्न सबैलाई अनुरोध गरिन् । बिशेष अतिथि वडा सदस्य आशिष भण्डारीले आफु सामान्य परिवारबाट राजनीतिमा आएको र नेतालाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन चाहेको बताउदै सबैको साथ सहयोग लिएर अगाडी बढ्ने बताए ।

जिल्ला सहकारी संघ कास्कीका संचालक सदस्य एवम् संगम सहकारीका सचिव धनराज पुरीले यस वडामा रहेका सबै सहकारी संस्थालाई सहभागी गराएर निर्देशनात्मक कार्यक्रम राखिदिन वडा सदस्यलाई अनुरोध गरे । आमा समुहकी अध्यक्ष शोभा देवले तालिमबाट दिदिबहिनीहरुले निर्धक्कसँग प्रस्तुति राख्दै अघि बढेको देख्दा खुसी लागेको बताइन् । कार्यक्रम संयोजक एवं आमा समुहकी सचिव सरस्वती अधिकारीले समुदायप्रति चासो राख्दै महत्वपूर्ण तालिम ल्याइदिनु भएकोमा सहकारीप्रति आभार प्रकट गरिन् । तालिममा सहजीकरण गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय पार्षद तिलक थापाले सिक्नु र सिकेका कुरा ब्यवहारमा उतार्नु एक अर्काका परिपुरक भएको बताए ।
बुद्धिमान थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीको तर्फबाट धन कुमारी तिमिल्सिना र मिना पन्थीले तालिमको अनुभव सुनाए भने प्रशिक्षार्थी सुरक्षा भण्डारीले कार्यक्रम संचालन गरिन् ।
तपाईको प्रतिक्रिया