पोखरा
उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताको कास्की छनौट खेल शुरु भएको छ । प्रतियोगितामा ४० टिमको सहभागीता रहेको छ । प्रतियोगिताको उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले उद्घाटन गरे ।
उद्घाटन खेलमा हिलप्याइनले गुरुकुल विद्यालयलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हरायो । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कास्कीबाट १२ र अन्य जिल्लाबाट ४ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । गण्डकी स्तरीय प्रतियोगिता फागुन ४ देखी ७ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता हुनेछ । कास्की छनौटबाट छानिएका १२ टिमले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने अध्यक्ष बरालले बताए । कास्की छनौटमा करिब ५० विद्यालयको सहभागीता जनाउने प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगले बताए ।
त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका १२ टिमको सहभागीता हुने लिगले बताए । खुल्ला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगिताको सविन मेमोरियल क्बलले संयोजन गरेको छ ।
हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले बताए । युवाहरुमा भएको खेलकुदको प्रतिभा देखाउने ठाउँ नपाएकाहरुलाई यो अवसर हुने उनको भनाई छ ।
उद्घाटन कार्यक्रममा हिसानका केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले प्रतियोगिताबाट विद्यार्थीले खेल्दै सिक्दै गर्ने अवसर पाउने बताए । त्यसै गरी हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले शुभकामना दिदै खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले निरन्तराता पाउनु पर्ने बताए । हिसान कास्कीका अध्यक्ष यम बहादुर रोका, उपाध्यक्ष दिवाकर जैसी र सचिव ढाकाराम कडेंल लगाउनले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५० हजार खर्च हुने प्रदेशका कोषाध्यक्ष राजेन्द्रमणी पौडेलले जानकारी गराए ।
तपाईको प्रतिक्रिया